Thursday, September 3, 2026
spot_img

माथिल्लो त्रिशूली–१ मा बाढीः ५५७ जना सम्पर्कविहीन, ८७६ जनाको उद्धार

spot_img

Share

spot_img

काठमाडौँ । रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढीका कारण २१६ मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । बाढीका कारण आयोजनाको निर्माणाधीन बाँधलगायत हेडवक्र्स, कार्यालय तथा आवास क्षेत्रमा क्षति पुगेको छ भने आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि आयोजनामा कार्यरत करिब ५५७ जना सम्पर्कविहीन अवस्थामा छन् । हालसम्म ८७६ जनाको उद्धार गरिएको प्रारम्भिक विवरण कम्पनीले सार्वजनिक गरेको छ ।

सम्पर्कविहीनमध्ये करिब ११५ जना हेडवक्र्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशंका गरिएको छ । आयोजनास्थलको अत्यन्त विकट भौगोलिक अवस्था, बाढीका कारण भएको व्यापक क्षति, सुरुङभित्र रहेको जोखिम तथा थप पहिरोको सम्भावनाका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

बाढी आउनुअघि आयोजनाले पूर्वसूचना जारी गरेको थियो । रसुवा सदरमुकाम धुञ्चेमा रहेका कम्पनीका प्रबन्धकले बिहान ८ः५७ बजे आयोजनाका कर्मचारीलाई पूर्वसूचना दिएका थिए । आयोजनातर्फबाट पनि कर्मचारीलाई पूर्वसूचना दिइए पनि छोटो समयमै ठूलो बाढी तथा लेदो आयोजनास्थलमा प्रवेश गरेपछि तत्काल सुरक्षित स्थानतर्फ जान कठिन भएको कम्पनीले जनाएको छ ।

बाढीपछि धुञ्चेस्थित आयोजनाबाट दुई जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको थियो । कम्पनीका प्रबन्धक, प्रमुख वित्त अधिकृतलगायतका कर्मचारीलाई नुवाकोट सदरमुकाम विदुरमा आवश्यक समन्वयका लागि परिचालन गरी निरन्तर जिम्मेवारीमा खटाइएको थियो ।

बाढीबाट जोगिएर सुरक्षित स्थानमा पुगेका तथा जंगल क्षेत्रमा पुगेका आयोजनासँग सम्बन्धित व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा सुरक्षा निकायसँग समन्वय गरी तीन जनाको सकुशल उद्धार गरिएको थियो । सोही दिन प्रबन्ध–निर्देशकसहितको टोलीले आयोजनाको भूमिगत विद्युत्गृह जाने पहुँच सुरुङ नजिकको क्षेत्रमा हेलिकोप्टरबाट ‘ल्यान्ड’ तथा ‘रेकी’ गरेको थियो । सो क्रममा विद्युत्गृहभित्र ठूलो संख्यामा कामदार फसेको हुनसक्ने अवस्था पहिचान भएपछि उनीहरूको तत्काल उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको थियो ।

हेलिकोप्टरबाट खोजी
भदौ ११ गते बाढीमा परी हराइरहेकाहरूको खोजीका लागि आयोजनास्थल तथा आसपासका क्षेत्रमा हेलिकोप्टरमार्फत दुई पटक हवाई निरीक्षण गरिएको थियो ।

भदौ १२ गते राहत सामग्रीसहित हेलिकोप्टरबाट आयोजनाको माथिल्लो क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो। सो क्रममा डाँडागाउँ प्रहरी चौकी नजिक घाइते अवस्थामा फेला परेका आयोजनाको सब–कन्ट्र्याक्टर कम्पनीमा कार्यरत एक भारतीय नागरिकको उद्धार गरी सम्बन्धित कम्पनी एन्ड्रिज हाइड्रोको जिम्मा लगाइएको थियो ।

विशेष खोजी टोली परिचालन
खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भदौ १३ गते सिम्रिक सेक्युरिटी गोर्खा फोर्स परिचालन गरिएको थियो । फोर्सका पाँच जना र चार जना स्थानीयसहितको टोलीले आयोजनास्थलभन्दा माथिल्लो क्षेत्रमा ग्राङदेखि मैलुङसम्म पैदल खोजी अभियान सञ्चालन गरिरहेको छ ।

खोजीका क्रममा उक्त क्षेत्रमा एउटा शव देखिए पनि अत्यधिक लेदोका कारण सो स्थानसम्म पुग्न नसकिएको कम्पनीले जनाएको छ । हालसम्म त्यस क्षेत्रमा अन्य व्यक्तिको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन ।

यसबीच कोरियाली तथा नेपाली प्राविधिक सम्मिलित टोलीले जंगल तथा नदी तटीय क्षेत्रमा ड्रोनमार्फत समेत खोजी तथा सर्वेक्षण गरिरहेको छ ।

सेना, सुरक्षा निकाय र उद्धार टोलीको संयुक्त प्रयास
भदौ १४ गते नेपाल माउन्टेन रेस्क्यु एसोसिएसनसँग खोज तथा उद्धारका लागि सम्झौता गरी टोलीलाई फिल्डमा परिचालन गर्न धुञ्चे पठाइएको थियो । तर सम्बन्धित निकायबाट आवश्यक अनुमति प्राप्त हुन नसकेपछि उक्त टोली फर्किएको कम्पनीले जनाएको छ ।

भदौ १५ गते गृह मन्त्रालय, नेपाली सेना तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी दुई वटा हेलिकोप्टरमार्फत आयोजनाको हेडवक्र्स क्षेत्रमा खोजी गरिएको थियो । सुरक्षा निकाय तथा नेपाल माउन्टेन रेस्क्यु एसोसिएसनको टोलीले संयुक्त रूपमा एरियल–१ तथा डिसेन्डर क्षेत्रमा खोजी गरेको थियो ।

हेडवर्क्स क्षेत्रमा सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि नेपाली सेना तथा चिनियाँ विज्ञहरूको टोलीसमेत परिचालन गरिएको थियो । तर बाढीका कारण हेडवक्र्स क्षेत्र पूर्ण रूपमा लेदोले भरिएको र त्यहाँ रहेका उपकरणसमेत सञ्चालन गर्न सकिने अवस्थामा नरहेको पाइएको छ ।

त्रिशूली नदीको दायाँ तथा बायाँ किनारमा समेत खोजी गरिए पनि हालसम्म थप व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन । नेपाल माउन्टेन रेस्क्यु एसोसिएसनको टोलीले उक्त क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।

तालिमप्राप्त कुकुरदेखि एयर–स्क्यानिङसम्म
भदौ १६ गते खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिन टीएएन कम्पनीलाई परिचालन गरी ग्राङ, मैलुङलगायत सम्भावित क्षेत्रमा खोजी गरिएको थियो । नौ जना शेर्पा सम्मिलित विशेष टोलीसमेत खोजीमा परिचालन गरिएको थियो ।

तालिमप्राप्त कुकुर तथा आवश्यक उपकरणसहितको थप टोली पोखराबाट रसुवा पठाइएको थियो । उक्त टोलीले ‘म्यान्ट्रेलिङ’ तथा ‘एयर–स्क्यानिङ’ प्रविधिको प्रयोग गरी सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ ।

स्थल तथा हवाई माध्यमबाट भइरहेको खोजीलाई एकीकृत गरी सम्भावित सबै क्षेत्रमा व्यवस्थित रूपमा खोजी गर्ने तयारी गरिएको छ । उद्धार कार्यमा सहयोग पुर्याउन ६.५ एचपी क्षमताका पम्प तथा जेनेरेटरसमेत हेडवक्र्स क्षेत्रमा पठाइएको छ । बाढी तथा लेदोका कारण जम्मा भएको पानी हटाउने तथा सुरुङ र अन्य सम्भावित स्थानमा उद्धार कार्य सञ्चालन गर्ने क्रममा ती उपकरण प्रयोग गरिने कम्पनीले जनाएको छ ।

आयोजनामा करिब १ हजार ४३३ जनशक्ति कार्यरत
बाढी आउनुअघि माथिल्लो त्रिशूली–१ आयोजनास्थलमा प्रवर्द्धक कम्पनी, परामर्शदाता, इन्जिनियरिङ, खरिद तथा निर्माण ठेकेदार तथा विभिन्न सब–कन्ट्र्याक्टर कम्पनीका नेपाली, कोरियाली, चिनियाँ, भारतीय तथा अन्य मुलुकका नागरिकसहित करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए ।

त्यसमध्ये प्रवर्द्धक कम्पनीतर्फ २७ जना, परामर्शदाता ट्र्याक्टेबल–जेड कन्सल्टतर्फ २० जना, मुख्य निर्माण ठेकेदार दोसानतर्फ ७८ जना, मुख्य सिभिल सहायक ठेकेदार पावर चाइनातर्फ १ हजार ६९ जना र इलेक्ट्रोमेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोतर्फ २३९ जना कार्यरत थिए ।

कम्पनीका अनुसार प्रवर्द्धक कम्पनीका १५ जना, परामर्शदाता जेड कन्सल्टका ७ जना, दोसानतर्फका ५६ जना, पावर चाइनाका ३८५ जना तथा हाइड्रो तथा इलेक्ट्रोमेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोतर्फका ९४ जना सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

आयोजनाको निर्माणमा समेत ठूलो क्षति
बाढीका कारण आयोजना निर्माण सम्पन्न हुन लागेका बाँधलगायतका संरचना तथा हेडवर्क्स, कार्यालय र आवास क्षेत्र पूर्ण रूपमा बगाएको छ । आयोजनाको बाँधस्थल, मुख्य सुरुङ, भूमिगत विद्युत्गृहलगायतका क्षेत्रमा निर्माण कार्य भइरहेको थियो ।

माथिल्लो त्रिशूली–१ नेपालमा आन्तरिक विद्युत् खपतका लागि निर्माणाधीन सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानीमा आधारित जलविद्युत् आयोजना हो । आयोजनाको निर्माण जुलाई २०२७ अर्थात् आर्थिक वर्ष २०८४ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

बाढी आउनुअघि आयोजनाको बाँधस्थल, मुख्य सुरुङ, भूमिगत विद्युत्गृहलगायतका सबै क्षेत्रमा निर्माण कार्य पूर्ण रूपमा सञ्चालनमा रहेको थियो । तर बाढीले निर्माण सम्पन्न हुन लागेका बाँधलगायतका संरचना, हेडवक्र्स, कार्यालय तथा आवास क्षेत्र बगाएपछि आयोजनामा ठूलो भौतिक क्षति पुगेको छ ।

खोजी र उद्धारमा चुनौती
बाढीबाट भएको व्यापक क्षति, सुरुङभित्रको जोखिम, थप पहिरोको सम्भावना र प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको छ ।

कम्पनीले आफू तथा सरकारका सम्बन्धित निकायसँगको समन्वयमा उपलब्ध स्रोत, साधन, प्रविधि तथा दक्ष जनशक्ति परिचालन गरी बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिएको जनाएको छ ।

खोज तथा उद्धारका लागि कोरियाबाट विज्ञ तथा उपकरणसमेत नेपाल ल्याएर आयोजनास्थलमा परिचालन गरिएको छ । आयोजनाको निर्माणमा संलग्न परामर्शदाता जेड कन्सल्ट, दोसान, पावर चाइना र एन्ड्रिज हाइड्रोलगायतका कम्पनीहरूले पनि आफ्ना तर्फबाट सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार गरिरहेका छन् ।

सम्पर्कविहीन व्यक्तिका परिवारसँग आयोजनाले नियमित सम्पर्क कायम राखेको छ । परिवारबाट प्राप्त सूचना तथा उद्धार गरिएका कर्मचारीले दिएको विवरणका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी उद्धार तथा खोजीमा परिचालित टोलीलाई जानकारी गराउने व्यवस्था गरिएको छ ।

परिवारजनलाई आवश्यक परामर्श तथा मनोसामाजिक सहयोगसमेत निरन्तर उपलब्ध गराउने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

खोज तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सरकारले गठन गरेको वार रुम बैठकमा समेत कम्पनीका तर्फबाट सहभागिता जनाई अवस्थाबारे जानकारी गराउने काम भइरहेको छ । उद्धारका लागि आवश्यक उपकरण, सामग्री तथा दक्ष जनशक्ति तत्काल उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक अनुमति तथा व्यवस्थापनलाई फास्ट–ट्र्याक प्रक्रियामार्फत अघि बढाइएको कम्पनीले जनाएको छ ।

गृह, अर्थ, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग निरन्तर समन्वय गरी स्थल तथा हवाई उद्धारका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।

प्रभावित क्षेत्रमा उद्धार टोली, उपकरण तथा आवश्यक सामग्री पुर्याउनन हवाई तथा स्थलमार्ग दुवै विकल्पलाई निरन्तर प्रयोग गर्ने तयारी गरिएको छ ।

आयोजनाले उपलब्ध सबै स्रोत, साधन, प्रविधि र जनशक्ति परिचालन गर्दै सरकारका निकायसँगको समन्वय तथा सहकार्यमा हराइरहेका आफन्तजनको सकुशल उद्धारका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ । खोज तथा उद्धार कार्य जारी रहेकाले यस कठिन र पीडादायी घडीमा हराइरहेका व्यक्तिका परिवार तथा आफन्तजनलाई धैर्य धारण गर्न कम्पनीले आग्रह गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img