काठमाडाैँ । उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव र कालोबजारी चुलिएका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए ।
बुधबार संसदीय समितिको बैठकमा मन्त्री यादवले ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ जस्ता अपवाद र विवादास्पद शब्द प्रयोग गरेकी थिइन् । बजारमा ग्यासको हाहाकार कायम रहेकै बेला मन्त्रीबाटै यस्तो उत्तेजक अभिव्यक्ति आएपछि ग्यास उद्योगीहरूले कडा आपत्ति जनाउँदै प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।
एकातिर उपभोक्ताहरू सरकारी दर २०६० रुपैयाँको साटो ३ हजार तिर्न बाध्य भइरहेको र काठमाडौँका लागि हिँडेका हजारौँ सिलिन्डर बाटोमै गायब भइरहेको चरम संकट छ । अर्कातिर, आपूर्ति सहज बनाउनुको साटो विवादास्पद टिप्पणी गरेर विवादमा तानिएपछि चौतर्फी दबाबका बिच मन्त्री यादवले राजीनामा दिनुपरेको हो ।











