Friday, September 11, 2026
spot_img

रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

कोटधारामा महेन्द्र राजमार्गमा निर्माणाधीन पक्की पुलको उचाईका कारण ११ केभी प्रसारण लाइनको तार नजिक सोही स्थानमा बसोबास गर्ने टीकाराम जैसीकी ८ वर्षीया छोरी रश्मी नुहाएर घर फर्कने क्रममा उक्त विद्युत्‌को तार छुन पुगी सख्त घाइते भएकी थिइन् । दुर्घटनामा परेर पूर्ण अंगभंग भएकी उनको विभिन्न अस्पतालमा उपचार गरिएको थियो । उपचार गराउँदा ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो ।

प्राधिरकरणले उपचार गराउँदा तीन लाख रुपैयाँ पेश्की उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणको विनियमावलीअनुसार बाँकी १० लाख ८१ हजार ३७२ भुक्तानी दिने निर्णय सञ्चालक समितिले गरेको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीकाअनुसार यसअघि उपचारका लागि लिइएको ३ लाख पेश्की कट्टा गरी रश्मी जैसीलाई क्षतिपूर्ति र राहत वापत बाँकी १० लाख ८१ हजार ३७२ भुक्तानी गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरण दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार बनेको समिति, इलाका प्रहरी कार्यालय बवियाचौरको सर्जिमिन मुचुल्का, पञ्चपुरी नगरपालिकाको सिफारिस र प्राधिकरणको मेडिकल बोर्ड (२०८३/०४/२१) को निर्णय अनुसार घाइतेको उपचार बिल, प्रेस्क्रिप्सन तथा पूर्ण अंगभंग भएको पुष्टि गर्दै उक्त क्षतिपूर्ति तथा राहत रकम सञ्चालक समितिले स्वीकृत गरेको हो ।

घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति

यसैगरी विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिवापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीकाअनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने मेलम्ची नगरपालिका १० आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर १५ केभी प्रसारण लाइनको डिस्क पिन बदली गर्ने ०८२ चैत ११ गते करेन्ट लागेर विद्युत दुर्घटनामा परि घाइते भएका थिए । उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो । मगरले १० लाख रुपैयाँ पेश्की लगिसकेका छन् । अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत घाइतेलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय सञ्चालक समितिले गरेको सदस्य शाहीले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img