Friday, September 11, 2026
spot_img

माथिल्लो त्रिशूली–१ का बाढी प्रभावित कामदारका परिवारलाई राहत प्याकेज दिइने

spot_img

Share

spot_img

काठमाडाैँ । २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ठेकेदार कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा तिनका परिवारलाई राहत उपलब्ध गराउने भएका छन् ।

गत भदौ १० गते आयोजनास्थलमा आएको विनाशकारी बाढीबाट प्रभावित कर्मचारी तथा कामदारका परिवारलाई आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी राहत प्याकेज घोषणा गर्ने तयारी भइरहेको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) ले जनाएको छ ।

बाढीपछि कम्पनीहरूको मुख्य प्राथमिकता खोज तथा उद्धारमा केन्द्रित भएकाले राहत प्याकेज घोषणा गर्न केही समय लागेको कम्पनीले जनाएको छ । विपत्तिपछि सुरक्षा निकायसँगको समन्वयमा उद्धार कार्यलाई तीव्रता दिइँदै आएको छ ।

आयोजनास्थलमा बाढी आउँदा इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) ठेकेदार डुसान एनरबिलिटी तथा सब–कन्ट्र्याक्टर पावर कन्स्ट्रक्सन कर्पोरेसन चाइना र एन्ड्रिज हाइड्रोका गरी करिब १ हजार ४३३ जना कामदार तथा कर्मचारी कार्यरत थिए। पछिल्लो विवरणअनुसार ८७६ जनाको उद्धार भइसकेको छ भने ५५७ जना अझै सम्पर्कविहीन छन् ।

आयोजनास्थलबाट एक चिनियाँ कामदारको उद्धार भएपछि भग्नावशेषमा फसेका हुन सक्ने अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाइएको एनडब्लुइडिसीले जनाएको छ ।

ठेकेदार कम्पनीहरूले सम्पर्कविहीन कामदारको वास्तविक अवस्था पत्ता लगाउन खोजी कार्यलाई प्राथमिकतामा राखेका छन्। विभिन्न स्रोत तथा सरकारी निकायबाट प्राप्त सूचनाको आधिकारिक पुष्टि गरेपछि मात्र सम्बन्धित परिवारलाई जानकारी गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यसैबीच, बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई तत्कालीन आवश्यकतामा सहयोग पुग्ने गरी राहत प्याकेज तयार पारिँदै छ। कम्पनीहरूले प्रभावित परिवारप्रति संवेदनशील रहेको जनाउँदै खोज तथा उद्धार कार्यसँगै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एनडब्लुइडिसीले उद्धार तथा राहतको अवस्थाबारे नियमित अनुगमन गरिरहेको जनाएको छ। साथै आयोजनासम्बन्धी आधिकारिक अद्यावधिक सूचना आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै जाने कम्पनीले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img