काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष तथा बीजी ग्रुपका प्रबन्ध निर्देशक गणेश कार्की ‘इनर्जी लिडरसिप एक्सेलेन्स अवार्ड २०२६’ बाट सम्मानित भएका छन् । सिजन मिडियाद्वारा आयोजित ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६ (भोल्युम ७)’ अन्तर्गत आइतबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित समारोहमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले कार्कीलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको सहभागिता विस्तार तथा राष्ट्रिय पूर्वाधार निर्माणमा पुर्याएको योगदानको कदर गर्दै कार्कीलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड प्राप्त गरेपछि कार्कीले ऊर्जा तथा जलविद्युत् क्षेत्रको दिगो विकास, निजी क्षेत्रको लगानी अभिवृद्धि र नीतिगत सुधारका लागि आगामी दिनमा पनि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आयोजकप्रति आभार व्यक्त गरे ।
जलविद्युत् क्षेत्रमा लामो समयदेखि सक्रिय कार्कीले ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण तथा सरकार र निजी क्षेत्रबीच सहकार्य विस्तारमा भूमिका खेल्दै आएका छन् । इप्पानको नेतृत्वमा रहँदा उनले निजी क्षेत्रका विद्युत् उत्पादकका तर्फबाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), विद्युत् व्यापार, लगानी र नीतिगत सुधारलगायतका विषय सरकारसमक्ष उठाउँदै आएका थिए ।











