काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा पश्चिम सेती–न्यू अत्तरिया (दैजी) ४०० केभी विद्युत प्रसारण लाइन आयोजना निर्माण हुने भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले याे लाइन निर्माण गर्न लागेकाे हाे ।
कम्पनीले सार्वजनिक सूचनामार्फत लाइन निर्माण तथा सञ्चालन गर्दा विद्युत एन २०४९ के दफा २४ बमेजिम भुक्षय, बाढी, वायु प्रदुषण अदीद्वारा वातावरणमा उल्ल्खनिय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा लिखित राय–प्रतिक्रिया दिन सरोकारवालालाई आग्रह गरिएको छ ।
आयोजनाअन्तर्गत डोटी जिल्लाको प्रस्तावित पश्चिम सेती सबस्टेसनदेखि डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका हुँदै कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित नेपाल विद्युत् प्राधिकरणद्वारा प्रस्तावित न्यू अत्तरिया (दैजी) सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गरिनेछ ।
कुल ६८ किलोमिटर लामो उक्त प्रसारण लाइन ४०० केभी क्षमताको डबल सर्किट हुनेछ । यसबाट अधिकतम १ हजार ५०० मेगावाटसम्म विद्युत प्रसारण गर्न सकिने जनाइएकाे छ ।
आयोजनाका लागि १५७ वटा टावर निर्माण गरिनेछन् । टावरको अधिकतम उचाइ ५१.४३ मिटर रहनेछ भने टावरहरूबीचको दूरी १४९.०२३ मिटरदेखि ८३९.०८६ मिटरसम्म रहनेछ ।
आयोजना निर्माणका लागि कुल ३१२.३५ हेक्टर जग्गा आवश्यक पर्नेछ । त्यसमध्ये टावर तथा सबस्टेसन क्षेत्रका लागि १९.९७ हेक्टर र प्रसारण लाइनको राइट अफ वे (RoW) क्षेत्रका लागि २९२.०८ हेक्टर जग्गा आवश्यक पर्ने छ ।
प्रसारण लाइनको राइट अफ वेअन्तर्गत केन्द्रबिन्दुबाट दायाँबायाँ २३/२३ मिटर गरी कुल ४६ मिटर क्षेत्र कायम गरिनेछ ।
आयोजना निर्माण कार्य २.५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण तथा सञ्चालनका क्रममा भू–क्षय, बाढी, वायु प्रदूषणलगायतका वातावरणीय प्रभावलाई ध्यानमा राखेर काम गरिने जनाइएको छ ।











