काठमाडाैँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेकाे ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयाेजनाकाे अडिट-१ सुरुङकाे ‘ब्रेकथ्रु’ भएकाे छ । आयाेजनाकाे भूमिगत संरचनातर्फ ‘अडिट–१’ लाई हेडरेस टनेल (HRT) एलाइन्मेन्टसँग सफलतापूर्वक जडान गरिएको हाे ।
आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालिले निर्माण गरेकाे आयाेजनाकाे अडिट १ काे ‘ब्रेकथ्रु’ भएकाे हाे । आयाेजनामा परामर्शदाताकाे रूपमा एन्जल इन्जिनियरीङ कन्सल्टेन्ट प्रालि र मुख्य ठेकेदारकाे रूपमा रसुवा मल्टी जेभी रहेकाे छ । अहिले आयाेजनाकाे हेडवर्क्स, पावरहाउस मुख्य पहुँच सुरुङ, टेलरेस टनेल तथा सर्ज शाफ्टतर्फको पहुँच सडक निर्माण कार्य एकसाथ अघि बढिरहेकाे कम्पनीले जनाएकाे छ ।
जलविद्युत आयोजना निर्माणको क्रममा सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि ९ करोड ७० लाख २४ हजार रुपैयाँ विनियोजन हुने जनाइएको छ । आयोजना निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न हुनेछ । आयोजनाको निर्माण सम्पन्न गर्न १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहने छ । सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये नबिल बैङ्कको ३ अर्ब १२ करोड, एभरेस्ट बैक र नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्क प्रत्येकले २/२ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैक, प्रत्येकले १/१ अर्ब रुपैयाँ रहने छ ।
आयोजनाको विद्युतगृह भुमिगत हुनेछ । आयोजना निर्माण गर्दा अन्नपूर्ण गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुने छन् । आयोजनाको ४३१९ मिटर लामो सुरुङ रहने छ । आयोजना निर्माण पूरा भएपछि उत्पादीत विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको छ । जसका आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट बाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादन बाट २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने छ ।








