काठमाडौँ । सुपरमाई हाइड्रो पावर लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । १ः१ हकप्रद र २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारितसहित आज (फागुन १७ गते) सभा सम्पन्न भएको हो ।
सभाले ५९ लाख २७ हजार ९७७ रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्दै १ः१ काे अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको कम्पनीका अध्यक्ष बुद्धिबहादुर थापाले बताए ।
हकप्रद शेयर बिक्रीबाट जम्मा हुने रकम कम्पनीको ऋण तिर्न र सम्भव भएसम्म मुनाफा योग्य आयोजनामा लगानी गर्ने कम्पनीको लक्ष्य छ ।
हालसम्म कम्पनीले राम्रो मुनाफा आर्जन गर्दै आफ्ना शेयरधनीहरूलाई ८१.२९ प्रतिशत लाभांश वितरण गरेर जलविद्युत् क्षेत्रमा अब्बल कम्पनीको रुपमा आफुलाई स्थापित गरीसकेको छ । विद्युत् उत्पादन क्षेत्रमा स्वभावतः प्राविधिक रुपमा संवेदनशिल र प्राकृतिक अवस्थाहरू प्रत्यक्ष जोडिएकोले सञ्चालनमा क्रममा विभिन्न चुनौति तथा समस्याहरू आइरहेको कम्पनीका अध्यक्ष थापाले बताए ।
उनका अनुसार गत असोज १८ गते परेको अविरल वर्षका कारण माइखोलामा आएको बाढी पहिरोका कारण ७.८ मेगावाटका आयोजनामा क्षति भई ६६ दिनसम्म आयोजना बन्द हुँदा कम्पनीले ठूलो क्षति व्यहोर्नु परेको थियो ।
अहिले कम्पनीको आयोजना सञ्चालनमा रहेको छ ।








