काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले तनहुँमा ‘लेखनाथ–दमौली २२० केभी विद्युत् प्रसारण लाइन आयोजना’ निर्माणको प्रक्रिया अघि बढाएको छ । आयोजनाका लागि आवश्यक अनुमतिपत्र प्राप्त गर्न प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको हो ।
विभागका अनुसार प्रस्तावित प्रसारण लाइन तनहुँको व्यास नगरपालिका–१३ स्थित निर्माणाधीन तनहुँ–भरतपुर २२० केभी प्रसारण लाइनको स्पेसल टावर नम्बर ०बी र ०सी बीचबाट सुरु हुनेछ । डुबेरी क्षेत्रमा निर्माण हुने यो प्रसारण लाइन लेखनाथ–दमौली २२० केभी लाइनको टावर नम्बर एपी–७० सम्म विस्तार हुने छ । यसको कुल लम्बाइ १.२ किलोमिटर रहनेछ ।
२२० केभी क्षमताको उक्त प्रसारण लाइन मल्टी–सर्किट प्रणालीमा आधारित हुनेछ, जसबाट १५० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने जनाइएको छ । आयोजनाअन्तर्गत अधिकतम ६१ मिटर उचाइका ३ वटा मल्टी–सर्किट टावर निर्माण गरिनेछन् । टावरहरूबीचको दूरी न्यूनतम १०० मिटरदेखि अधिकतम ४०० मिटरसम्म रहनेछ ।
आयोजना निर्माणका लागि कुल ३.४१६ हेक्टर जग्गा आवश्यक पर्नेछ । यसमध्ये ०.६०७ हेक्टर जमिन टावर निर्माणका लागि स्थायी रूपमा प्रयोग हुनेछ भने ३.०४६ हेक्टर क्षेत्र विद्युत् मार्गको अधिकार क्षेत्रभित्र पर्नेछ ।
विद्युत् नियमावली, २०५० अनुसार प्रसारण लाइनको मध्यबिन्दुबाट दायाँ–बायाँ १५/१५ मिटर गरी कुल ३० मिटर चौडाइको क्षेत्राधिकार कायम गरिनेछ । प्राधिकरणले आयोजना निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
आयोजनाको निर्माण तथा सञ्चालनबाट वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने देखिएमा ३५ दिनभित्र लिखित राय, सुझाव तथा प्रतिक्रिया पेस गर्न विद्युत् विकास विभागले बुधबार सार्वजनिक सूचना जारी गरेको छ।








