काठमाडाैँ । देशका विभिन्न हिमाली तथा नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजना, प्रसारण संरचना र अन्य पूर्वाधारमा क्षति पुगेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभावित सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४(१) अनुसार बोर्डले लगानीकर्ताको हित संरक्षण, बजार पारदर्शिता तथा धितोपत्र कारोबारलाई व्यवस्थित गर्न नेप्सेलाई विभिन्न निर्देशन दिएको हो । विशेषगरी त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीबाट क्षति पुगेपछि बोर्डले यस्तो कदम चालेको हो ।
सेबोनले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका वा हुन सक्ने सूचीकृत कम्पनीको सूची तत्काल तयार गरी बोर्डलाई जानकारी गराउन नेप्सेलाई निर्देशन दिएको छ । साथै प्रभावित कम्पनीसँग समन्वय गरी आयोजनाको अवस्था, सम्पत्तिमा भएको क्षति, विद्युत् उत्पादन तथा वित्तीय प्रभावसम्बन्धी विवरण सार्वजनिक गर्नसमेत भनिएको छ ।
प्रभावित कम्पनीले आयोजनाको नाम र स्थान, विपद् आएको मिति तथा प्रकृति, प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादनमा परेको असर, प्रभावित उत्पादन क्षमता र मानव संशाधनमा भएको क्षतिको विवरण सार्वजनिक गर्नुपर्नेछ । त्यस्तै प्रसारण तथा वितरण पूर्वाधारको अवस्था, सम्पत्तिको बीमा गरिएको वा नगरिएको अवस्था, बीमा दाबीको स्थिति र प्रारम्भिक वित्तीय प्रभावसमेत सार्वजनिक गर्नुपर्नेछ ।
बोर्डले प्रभावित आयोजनाको पुनःसञ्चालन हुन सक्ने अनुमानित समय तथा बैंकिङ ऋणको भुक्तानी क्षमतामा पर्न सक्ने असरबारे पनि लगानीकर्तालाई जानकारी गराउनुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । विपद्पछि कम्पनी व्यवस्थापनले तत्काल चालेका कदमसमेत सार्वजनिक गर्नुपर्नेछ ।
अस्वाभाविक कारोबारमा निगरानी
बाढी तथा प्राकृतिक विपद्को अवस्थालाई आधार बनाएर प्रभावित कम्पनीको शेयरमा अस्वाभाविक गतिविधि हुन सक्ने भन्दै सेबोनले कारोबारमा विशेष निगरानी राख्न निर्देशन दिएको छ ।
नेप्सेले प्रभावित कम्पनीको शेयर मूल्यमा हुने अस्वाभाविक परिवर्तन, असामान्य कारोबार परिमाण तथा शङ्कास्पद खरिद–बिक्री आदेशको निरन्तर अनुगमन गर्नुपर्नेछ । महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि हुने असामान्य कारोबार, सम्भावित भित्री कारोबार तथा बजारको निष्पक्षता र पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिमाथि समेत निगरानी बढाउन बोर्डले भनेको छ ।
विपद्का लागि छुट्टै कार्यविधि बनाउन निर्देशन
सेबोनले भविष्यमा प्राकृतिक विपद्, दुर्घटना, आगलागी, भूकम्पलगायत असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्न छुट्टै कार्यविधि निर्माण गर्नसमेत नेप्सेलाई निर्देशन दिएको छ ।
उक्त कार्यविधिमा विपद्का कारण कम्पनीमा परेको प्रभावबारे सूचना प्रवाह गर्ने, आवश्यक अवस्थामा धितोपत्र कारोबार रोक्का गर्ने तथा अवस्था सामान्य भएपछि कारोबार पुनः सञ्चालन गर्ने प्रक्रियालाई स्पष्ट बनाउनुपर्नेछ ।
बोर्डले यस विषयमा भएका प्रगति तथा प्रभावित कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अनुगमन प्रतिवेदन नियमित रूपमा आफूलाई पेस गर्नसमेत नेप्सेलाई निर्देशन दिएको छ ।











