काठमाडाैँ । भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा रसुवागढी जलविद्युत् कम्पनीका ५१ जना नियमित कर्मचारी, एक जना सञ्चालक, दुई जना दैनिक ज्यालादारी कामदार तथा तीनवटा ठेकेदार कम्पनीका ३९ जना कर्मचारी/कामदार रहेका छन् ।
बाढीले आयोजनाको बाँधस्थल, साइट कार्यालय, कर्मचारी आवास, जलविद्युत् केन्द्र, प्रसारण लाइनलगायत अधिकांश संरचनामा ठूलो क्षति पुर्याएको कम्पनीले जनाएको छ । भदौ १० गते बिहान करिब ८ः४० बजे भोटेकोशी नदीमा अचानक अत्यधिक ठूलो बाढी आएको थियो । बाढीको मात्रा अत्यधिक रहेकाले आयोजनास्थलमा रहेका संरचनामा ठूलो क्षति हुनसक्ने र अधिकांश कर्मचारी तथा अन्य व्यक्तिले सुरक्षित स्थानतर्फ जाने समयसमेत नपाएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो । त्यसलगत्तै कम्पनीले आयोजनास्थलमा रहेका कर्मचारीको अवस्था बुझ्ने तथा सम्भावित उद्धारका लागि हेलिकप्टरमार्फत टोली परिचालन गर्नुका साथै नेपाल सरकार, नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सम्बन्धित निकायसँग समन्वय अघि बढाएको थियो ।
सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि कम्पनीले हेलिकप्टर, नेपाली सेनाको उद्धार टोली, ड्रोन, प्राविधिक जनशक्ति तथा अनुभवी रक क्लाइम्बरसमेत परिचालन गरेको छ । भदौ १५ गते नेपाली सेनाको उद्धार टोलीले जलविद्युत् गृहको सुरुङभित्र करिब २२० मिटर प्रवेश गरी खोजी गरे पनि Powerhouse Tunnel र Transformer Cavern Tunnel अवरुद्ध रहेकाले थप अगाडि बढ्न सकेको थिएन । भदौ २० गते पुनः चारवटा हेलिकप्टरबाट नेपाली सेनाको उद्धार टोली जलविद्युत् गृह पुगेको र मलबा हटाउँदै Transformer Cavern तथा Powerhouse भित्र खोजी गर्दा पनि हालसम्म कुनै कर्मचारीको अवस्था फेला नपरेको कम्पनीले जनाएको छ ।
२०८३ भदौ १० गते (घटनाको दिन)
- अकास्मिक बाढी: बिहान करिब ८:४० बजे भोटेकोशीमा अचानक आएको भीषण बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस, घट्टेखोला आवासगृह र प्रसारण लाइनमा ठूलो क्षति पुर्यायो ।
- सम्पर्कविहीन सूची: नियमित ४९, दैनिक ज्यालादारी ६, ठेकेदारतर्फका ३५, र कम्पनीका सञ्चालक श्री सुनौं औदी तामाङ दम्पत्तीसहित ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन भए ।
- उद्धार पहल: काठमाडौँबाट Fishtail Air को हेलिकप्टरमार्फत तीन जना कर्मचारी (टिकानाथ पौडेल, साङ्गे वाङ्चुक लामा, कर्मु सोनाम वाइवा) लाई टिमुरे परिचालन गरियो ।
- आकस्मिक बैठक: साँझ सञ्चालक समितिको बैठक बसी खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरियो। कार्यालयमा Help Desk स्थापना गरियो ।
२०८३ भदौ ११ गते
- संस्थागत समन्वय: NDRRMA, गृह/ऊर्जा मन्त्रालय, नेपाली सेना, NEPSE, बीमा कम्पनी र बैंकहरूलाई औपचारिक पत्राचार गरियो ।
- आफन्तसँग सम्पर्क: पीडित परिवारलाई द्रुत सूचना दिन WhatsApp Group सुरुवात गरियो ।
- रेस्क्यु र उद्धार: टिमुरे पठाइएका दुई कर्मचारीलाई नेपाली सेनाले उद्धार गरी फिर्ता ल्यायो ।
२०८३ भदौ १२ गते
- सकुशल उद्धार: Desander Operation Tunnel मा फसेका ६ जना ज्यालादारी कामदारमध्ये ४ जनाको सकुशल उद्धार (भक्तबहादुर माझी, बलबहादुर माझी, राजन बि.क., सुनिता माझी) ।
- सरकारी पहल: आफन्त र व्यवस्थापनद्वारा सरकारका उच्च निकायमा उद्धार तीव्र पार्न आग्रह गरियो। GPS Coordinates र नक्सा सेनालाई हस्तान्तरण गरियो।
२०८३ भदौ १३ गते
- टास्क फोर्स गठन: NEA र Rescue Task Force सँग समन्वय गरी प्राविधिक सूचना आदानप्रदान गरियो। सञ्चारमाध्यममार्फत हराइरहेकाहरूको विवरण सार्वजनिक गरियो ।
२०८३ भदौ १४ गते
- स्थलगत टोली परिचालन: टोली (सञ्चालक भीमप्रसाद तिमिल्सिना, अच्युत रत्न शाक्य आदि) बट्टार हुँदै धुन्चे पुगे पनि मौसम खराबीले आयोजनास्थल पुग्न सकेन।
२०८३ भदौ १५ गते
- टनेल प्रवेश प्रयास: सेना र इञ्जिनियर साङ्गे वाङ्चुक लामा पावरहाउस टनेलको २२० मिटरसम्म पुगे । तर, पावरहाउस र ट्रान्सफर्मर क्याभर्न टनेल पूर्ण रूपमा पुरिएकाले थप अघि बढ्न सकिएन।
- उपकरण खरिद निर्णय: सेनालाई उद्धारमा सघाउन आवश्यक Tools & Equipment खरिद गर्ने निर्णय गरियो ।
२०८३ भदौ १६ गते
- उच्चस्तरीय बैठक: माननीय ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र सूचना मन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा मन्त्रालयमा पीडित परिवार, कम्पनी र सरकारी अधिकारीहरूबिच सामूहिक बैठक बस्यो।
२०८३ भदौ १७ गते
- उपकरण ढुवानी: मलबा पन्छाउन Mini Excavator, Generator, Submersible Pump आदि बट्टार ब्यारक पुर्याइयो।
- शव फेला: सेनाको Ground Search बाट ८ वटा शव प्राप्त भएको जानकारी आयो।
- विज्ञ टोली सम्झौता: घट्टेखोला क्षेत्रको कडा भूगोलमा खोजी गर्न ‘Himalaya Summit Club’ का दक्ष Rock Climbers परिचालन गरियो।
२०८३ भदौ १८–१९ गते
- मौसम र भूगोलको अवरोध: नदी कटानका कारण पावरहाउसअघि MI17 हेलिकप्टर बस्न नसकेपछि साना जेनेरेटर पठाउने प्रयास भयो, तर खराब मौसमले उडान प्रभावित भयो। कुल ९३ जना अझै सम्पर्कविहीन रहेको तथ्याङ्क कायम रह्यो ।
२०८३ भदौ २० गते
- पावरहाउसभित्र विस्तृत खोजी: Tunnel Expert श्री विष्णु शिवाकोटी र सेनाको टोलीसहित ४ वटा हेलिकप्टरबाट टोली पावरहाउस पुग्यो ।
- अन्तिम स्थिति: Debris पन्छाउँदै Control Room भन्दा माथिसम्म र Transformer Cavern मा खोजी गर्दा पनि कुनै कर्मचारी फेला परेनन्। Control Room पूर्ण रूपमा पुरिएको छ। Ground Search टोलीले पनि भदौ २० साँझसम्म थप सफलता पाउन सकेको छैन ।
कम्पनीको भनाइ: यसरी कम्पनीले सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा उद्धारका लागि उपलब्ध स्रोत, साधन तथा जनशक्ति परिचालन गरी निरन्तर र अथक प्रयास गरिरहेको छ । घटनाको सुरुदेखि नै सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धार टोली तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै खोजी तथा उद्धार कार्यलाई अघि बढाइएको छ । कम्पनीले सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी, व्यापक र तीव्र बनाउन नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षा तथा उद्धार संयन्त्र, स्थानीय प्रशासन एवं अन्य सरोकारवाला निकायलाई थप जनशक्ति, विशेषज्ञ टोली, उपकरण तथा स्रोत–साधन परिचालन गरी खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन हार्दिक अनुरोध गरेको छ।
कम्पनीले सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै हालसम्म खोजी तथा उद्धार कार्यमा सहयोग पुर्याउने नेपाल सरकारका निकाय, सुरक्षा निकाय, स्थानीय तह, उद्धारकर्ता, स्थानीय बासिन्दा तथा सम्पूर्ण सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ। खोजी तथा उद्धार कार्यबाट प्राप्त विश्वसनीय तथा आधिकारिक जानकारी समयमै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।











