Friday, September 18, 2026
spot_img

२२.५० मेगावाटको जाल्दीगाडका लागि जुट्यो ४ अर्ब ६० करोड लगानी

spot_img

Share

spot_img

काठमाडाैँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ । सांग्रिला हाइड्रो पावर प्रा.लि.ले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्वीटी लगानी रहनेछ ।

आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रो पावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन् । सम्झौता सम्बन्धि कार्यक्रममा नेपाल बैंक र निफ्राका प्रतिनिधिहरू समेत उपस्थित थिए ।

जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ । आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् । अब वित्तीय व्यवस्थापनको काम पनि सम्पन्न भएकाले निर्माण कार्यलाई तीव्रता दिइने कम्पनीका प्रबन्ध सञ्चालक कृष्ण प्रसाद घिमिरेले बताए ।

अनुभवी प्रवर्द्धक

जाल्दीगाड आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाटको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिना अगावै सम्पन्न गरेको थियो । विकास हाइड्रो पावर सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशनसमेत गरिसकेको कम्पनी हो ।

त्यस्तै, यही समूहले गोरखामा ४.६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । जसबाट आगामी ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

यसरी, अनुभवी समूहले नै २२.५० मेगावाटको जाल्दीगाड आयोजना निर्माण गर्ने भएकाले यो आयोजना पनि समयमै निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img