Friday, April 17, 2026
spot_img

गुल्मी–बुर्तिबाङ लाइन परीक्षण सुरु, नियमित सञ्चालनको तयारी

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले गुल्मीको सदरमुकाम तम्घासदेखि बागलुङको बुर्तिबाङसम्म निर्माण सम्पन्न गरेको १३२ केभी डबल सर्किट प्रसारण लाइनको परीक्षण सुरु गरेको छ ।

‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित उनाएचौरमा रहेको तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेसनसम्म १३२ हजार भोल्ट क्षमतामा विद्युत् परीक्षण तथा प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।

आयोजना प्रमुख मनोज चौधरीका अनुसार दुई दिनसम्म प्राविधिक परीक्षण सम्पन्न भएपछि मात्र प्रसारण लाइन नियमित सञ्चालनमा ल्याइने तयारी छ ।

प्रसारणलाइन गुल्मीको रेसुङ्गा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२ तथा मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ र ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको छ ।

उच्च भोल्टेजको जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारणलाइनका टावरमा नचढ्न, तार वा संरचना नछुन, टावर आसपास नजान तथा पशुचौपाया खुला रूपमा नछाड्न आग्रह गरेको छ । जोखिम संकेत गरिएका स्थानबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन पनि अनुरोध गरिएको छ ।

परीक्षण अवधिमा झिल्का देखिएमा वा कुनै असामान्य अवस्था महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा खबर गर्न अपिल गरिएको छ ।

प्राधिकरणका अनुसार करिब ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतमा सम्पन्न भएको यो आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप भरपर्दो र सुदृढ हुने अपेक्षा गरिएको छ ।

यस लाइनमार्फत कपिलवस्तुको मोतिपुर सवस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img