काठमाडाैँ । विनाशकारी बाढीका कारण विद्युत् संरचनामा ठूलो क्षति पुगेको रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि प्रयास तीव्र पारिएको छ । प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन नुवाकोट–रसुवा विद्युत् अन्तरसम्बन्ध कायम गर्ने काम अघि बढाइएको छ ।
भौगोलिक विकटता, क्षतिग्रस्त पूर्वाधार र प्रतिकूल मौसमका बीच प्राविधिक टोलीले आवश्यक संरचना निर्माण तथा विद्युत् लाइन जडानको कामलाई निरन्तरता दिइरहेको छ । बाढीले क्षति पुर्याएका संरचनाको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गर्दै मर्मत तथा पुनर्निर्माणको काम पनि सँगसँगै अघि बढाइएको छ ।
यससँगै प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा सञ्चालन सहज बनाउन वैकल्पिक व्यवस्थामार्फत विद्युत् पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ । विद्युत् आपूर्ति पुनःस्थापना नहुँदासम्म प्रभावित नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउन सम्बन्धित निकायले विभिन्न विकल्पमा काम गरिरहेका छन् ।
यसैबीच, रसुवाको खोलापारिको क्षेत्रबाट पानी ल्याउने कामसमेत भइरहेको छ। उक्त व्यवस्थाबाट प्रभावित बस्तीमा खानेपानी तथा दैनिक जीवनका आधारभूत आवश्यकता पूरा गर्न केही सहजता हुने अपेक्षा गरिएको छ ।
बाढीपछि अवरुद्ध भएका विद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने उद्देश्यले प्राविधिक तथा सम्बन्धित निकायका टोलीहरू चुनौतीपूर्ण अवस्थामा समेत फिल्डमै परिचालित छन् । विद्युत् आपूर्ति पुनःस्थापनालाई प्राथमिकतामा राख्दै नुवाकोट–रसुवा विद्युत् अन्तरसम्बन्धको कामलाई तीव्रता दिइएको छ ।











