काठमाडाैँ । एपोलो हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । यसअघि फागुन ११ गतेदेखि खुला गरिएको उक्त आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसअन्तर्गत पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ४ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता शेयर निष्काशन गरिएको हो ।
उक्त शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का बासिन्दालाई बाँडफाँट गरिनेछ । यस्तै, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता शेयर मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का बासिन्दाका लागि छुट्याइएको छ ।
बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर २ र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दामा वितरण गरिनेछ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकका किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्बा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदन फाराम प्राप्त गर्न दरखास्त फाराम शुल्कबापत २ रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
एपोलो हाइड्रो पावरले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ ।








