काठमाडाैँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जडान गरिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहटाउँदा पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरस्थित सबस्टेसनदेखि विमानस्थल प्रवेशमार्गसम्म रहेका २९ वटा पोल नहट्दा सर्भिस लेन र फुटपाथ निर्माणमा अवरोध उत्पन्न भएको हो ।
सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार विद्युत् पोल हटाउन पटक–पटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरण लाई पत्राचार गरिए पनि हालसम्म कुनै ठोस पहल हुन सकेको छैन । विमानस्थलले आफ्नै संरचनामार्फत डेडिकेटेड लाइन प्रयोग गरिरहेको छ ।
प्राधिकरणका अनुसार उक्त क्षेत्रमा तार भूमिगत गर्न आवश्यक संरचना तयार भइसके पनि विमानस्थल कार्यालयले भुक्तानी नगरेसम्म सेवा सञ्चालन गर्न नसकिने अवस्था छ । प्राधिकरणका इन्जिनियर आनन्द सुवेदीका अनुसार विमानस्थलले करिब १ करोड ६३ लाख रुपैयाँ तिर्न बाँकी छ। “भुक्तानी भएपछि मात्र भूमिगत सेवा सञ्चालन हुन्छ र त्यसपछि पोल हटाउन सकिन्छ,” उनले बताए ।
हाल भूमिगत लाइन सञ्चालनमा नआएका कारण पुरानै संरचनाबाट विद्युत् आपूर्ति भइरहेको छ । प्राधिकरणले भुक्तानी नआउँदासम्म सेवा सुरु गर्दा कानुनी जटिलता आउन सक्ने भन्दै सावधानी अपनाएको जनाएको छ ।
यस विषयमा खड्कराज पौडेल सँग समेत छलफल भइसकेको र मन्त्रालयस्तरबाट समाधान हुने अपेक्षा गरिएको छ ।
उता, सडक आयोजनाले मापदण्डविपरीतका संरचना, खानेपानी पाइप तथा अन्य अवरोध हटाउन सम्बन्धित निकायलाई ताकेता गरिरहेको जनाएको छ । पश्चिम खण्ड (पोखरा–जामुने) चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि यस्ता अवरोधका कारण काममा ढिलाइ भइरहेको छ ।
हालसम्म सडकको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । कुल ३८.७१ किमीमध्ये ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र सम्पन्न भइसकेको छ भने सर्भिस लेनतर्फ पनि आधाभन्दा बढी काम सकिएको छ ।
यसैबीच, पोखराका मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने अभियान पनि जारी छ । पृथ्वीचोक, सभागृह, जिरो किलोमिटर र लेकसाइड क्षेत्रसम्म विस्तार भइरहेको यो आयोजनाले करिब ६७ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको प्राधिकरणले जनाएको छ ।








